स्वास्थ्य क्षेत्रलाई ६८ अर्ब ७८ करोड बजेट, आठ जटिल रोगको उपचारमा अनुदान वृद्धि

स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको समग्र बजेट रु १२ अर्ब वृद्धि भएको छ । गत आर्थिक वर्षमा रु ५६ अर्ब ४१ करोड ९७ लाख बजेट रहेको थियो । आगामी आव २०७६/०७७ का लागि रु ६८ अर्ब ७८ करोड विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को दुवै सदनमा आज पेश गर्नुभएको आगामी आव २०७६/०७७ बजेट वक्तव्यमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्दै आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गरिने जनाइएको छ ।

स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने, सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने उल्लेख गरिएको छ । हाल स्वास्थ्य बीमा कार्यक्रम ४२ जिल्लामा कार्यान्वयनमा रहेको छ ।

स्वास्थ्य बीमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रबाट उपलब्ध गराइने, बीमितलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न न्यूनतम गुणस्तर मानक निर्धारण गरिने बजेट वक्तव्यमा रहेको छ । सबै जिल्लामा स्वास्थ्य बीमा योजना सञ्चालन गर्न रु छ अर्ब विनियोजन गरेको भएको छ ।

बजेट वक्तव्यमा महिलामा बढ्दो पाठेघर र स्तन क्यान्सरजस्ता रोग पहिचानका लागि निःशुल्क स्वास्थ्य परीक्षण, क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिने, सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गरिने रहेको छ ।

हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्चित गर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने बजेटमा उल्लेख गर्दै विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सरलगायत आठ प्रकारका जटिल रोगको निःशुल्क उपचारमा अनुदान वृद्धि गरेको छ ।

क्यान्सर, उच्च रक्तचाप र मधुमेह जस्ता बढ्दो प्रवृत्तिका रोग प्रतिरोध तथा निदान कार्यक्रम सञ्चालन गर्ने, आमा र बच्चाको पोषण सुनिश्चत गर्न गर्भावस्था देखिने प्रसूति सुरक्षा सेवा पु-याइने, गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने व्यवस्था गरिएको छ । समग्र बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि रु छ अर्ब विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार