प्रधानमन्त्री ओली दिल्ली जाँदै, समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

काठमाडौं । भारतका समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आज दिउँसो १:३५ बजेको उडानबाट दिल्ली जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मोदीको शपथग्रहण बिहीबार साँझ ७ बजे भारतीय राष्ट्रपतिभवनमा हुँदै छ । ओली र मोदीबीच द्विपक्षीय वार्ता शुक्रबार बिहान हैदराबाद हाउसमा तय भएको छ ।

प्रधानमन्त्री ओलीलाई मोदीको निमन्त्रणा सोमबार अबेर मात्रै कूटनीतिक च्यानलबाट प्राप्त भएको थियो । दिल्लीस्थित उपनियोग प्रमुख भरतकुमार रेग्मीलाई भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ बोलाएर निमन्त्रणा हस्तान्तरण गरेको थियो । तर, पहिले नै मौखिक निमन्त्रणा आएका कारण प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको थियो ।

बिहीबार शीतलनिवास राष्ट्रपतिभवनमा संविधानसभा सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली दिल्ली जानेछन् । प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी, परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल जाने तय भएको छ । दिल्लीबाट प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा नेपाली राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतराज रेग्मी थपिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार