काठमाडौं । आईसीसी विश्वकप आजदेखि इंग्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । लण्डनको किनिङटोन ओभलमा भब्य उद्घाटनसँगै खेल सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।
ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यका साथ दक्षिण अफ्रिकी टिम विश्वकपको मैदानमा उत्रिने तयारी गरिरहेको छ । दक्षिण अफ्रिका टिमका लागि विश्वकप सँधै नाटकीय हुँदै आएको छ । उत्कृष्ट प्रदर्शन गर्दा–गर्दै पनि यो अभागी टिमले कहिले पनि फाइनलमा स्थान बनाउन सकेन ।
यस्तै दूर्भाग्यका कारण चेकर उपनाम पाएको दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरियो । सन् १९९२ मा इंग्ल्याण्डसँग, सन् १९९९ मा अष्ट्रेलियासँग, सन् २००७ मा फेरी अष्ट्रेलियासँग र २०१५ मा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिकी टिमको सपना चकनाचुर भएको थियो ।
क्रिकेटको जन्म इंग्ल्याण्डमा भएको मानिन्छ । तर, जुन खेल जन्मायो त्यही खेलको सबैभन्दा ठूलो प्रतियोगिता इंग्ल्याण्डले जित्न सकेको छैन । यो पटक आफ्नो शाख जोगाउने अर्को प्रयास गर्दैछ । सन् १९७५ मा भएको क्रिकेट विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाएको इंग्ल्याण्डले उपाधि भने जित्न सकेको छैन ।
इंग्ल्याण्डले चार पटक विश्वकपको आयोजना ग-यो र तीन पटक फाइनल खेल्यो । तर यो प्रतिष्ठित ट्रफी घर भित्राउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्दै इंग्ल्याण्ड प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

773 पटक हेरिएको 

