काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको १८ वर्ष पुगेको हो।
नेपालको इतिहासमा यसलाई कहालीलाग्दो घटनाका रूपमा लिइन्छ। नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो। घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति मारिएका थिए।
यस्तै अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो। कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन पेश गरेको थियो।
त्यसपछि पनि दरबारसँग सम्बन्धित व्यक्तिहरूले पुस्तक प्रकाशन गरी दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको दाबी गरे पनि धेरै नेपालीले यसलाई विश्वास गरेका छैनन्। वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र शाह राजा भएका भएका थिए। २०६२/६३ सालको जन आन्दोलनपछि मुलुकबाट राजतन्त्र हटेको थियो ।

461 पटक हेरिएको 

