काठमाडौं । भारतबाट नेपालतर्फ आउँदै गरेको एक नेपाली युवा विष्फोटक पदार्थसहित भारतको पानीटेंकीमा पक्राउ परेका छन् । पानीटेंकीबाट काँकडभिट्टा नाकातर्फ प्रवेश गर्न लागेका भोजपुर–९ खैराङका ३३ वर्षीय श्रीप्रसाद राईलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पानीटेंकी नाकामा खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले राईलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको हो । उनको साथबाट विष्फोटक पदार्थ नियोजेल (९०) को ४० प्याकेट, १०० थान विद्युतीय डेटोनेटर, नेपाली नागरिकताको परिचयपत्र, मोबाइल फोनलगायतका सामग्री बरामद गरिएको एसएसबीले जनाएको छ ।
पक्राउ परेका राई मेघालयको सिलङबाट नेपाल फर्कंदै थिए । सिलोङमा अध्ययनरत् छोरीलाई भेट्न गएर फर्किएको उनले भारतीय प्रहरीलाई बताउँदै आएका छन् । नाकामा उनले बोकेको कालो झोला चेकजाँच गर्दा विष्फोटक पदार्थ फेला परेको एसएसबीका कमाण्डर राजीव राणाले बताए ।
पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि खोडीबारी पुलिस थाना बुझाइएको उनले बताए । राई पक्राउ परेकोबारेमा एसएसबीले आफूलाई जानकारी गराइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाले बताए ।

442 पटक हेरिएको 

