यहाँ सरकारका अरिंगालहरु मात्र सुरक्षित छन् : गगन थापा

 1997 पटक हेरिएको

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नेतृत्वलाई मन नपर्ने व्यक्तिहरूलाई चुप लगाउने गरी सरकारले सूचना प्रविधि विधेयक अगाडि बढाएको भन्दै चर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद थापाले सरकारको नेतृत्वमा रहेकाको विरोधमा बोल्ने, आलोचना गर्नेमाथि मुद्दा लगाउने र प्रतिबन्ध लगाउने गरी कानुन ल्याउन लागिएको भन्दै त्यसका विरुद्ध लाग्न आह्वान गरेका हुन् । उक्त विधेयकलाई संसदको विकास तथा प्रविधि समितिको उपसमितिले बहुमतले प्रतिवेदन तयार पारेको छ। जसमा कांग्रेसका सांसदको फरक मत रहेको थियो।

सांसद थापाले केही पहिले सरकारको आलोचना गरेको पशुपति शर्माको गीत प्रतिबन्ध लगाएको, फिल्म समीक्षा गरेको विषयमा प्रनेश गौतमलाई थुनामा राखेको र गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी प्रशासनले बल प्रयोग गरेका विषयलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सरकार दिनदिनै आफ्नो आलोचना गर्नेमाथि दमनमा उत्रिएको आरोप लगाए।

संविधानले दिएको अधिकारको प्रयोग गर्नेहरूमाथि सरकारले दमनको बाटो अपनाएको थापाको भनाइ थियो। सरकारको संरक्षणमा रहेका व्यक्तिहरूले जति गाली गलौँच गरे पनि केही नहुने तर सरकारलाई मन नपर्ने मान्छेले अलिकति आलोचना गर्नेहरूमाथि भने दमनको नीति लिइएको उनको भनाइ थियो।

उनले भने, ‘प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्नेहरू होसियार! किनकी यहाँ अब कोही सुरक्षित छैन। यो कानुन पारित भइसकेपछि कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौँ। यहाँ केवल सरकारको अरिंगाल मात्र सुरक्षित रहन सक्छन्।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार