लोकसेवाले जनविश्वासलाई समुन्नत बनाउने गरी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी

 1367 पटक हेरिएको

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छिन् ।

लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताएकी हुन् ।

उनले आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई ध्यानमा राखेर आफ्ना कार्यलाई शुरुमै सार्वजनिक गरी काम गर्नु सफलताको कडी भएको विश्वास व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले संवैधानिक जिम्मेवारी पाएको आयोगको काम कारवाहीलाई थप मजबुत बनाउन सरकार र सम्बद्ध सबैले सहयोग गर्ने विश्वास लिएको बताइन् ।

सरकारले न्याय र समानतामा आधारित शोषणरहित समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक दायित्व बहन गर्नुपर्ने अवस्थामा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेवी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत आफूले लिएको उनले बताइन् ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगले झण्डै सातदशकको यात्रामा विभिन्न घुम्ती, उकाली, ओराली पार गर्दै आएको र अहिले फेरि आयोगको जनविश्वासको जगलाई कमजोर पार्ने प्रयास भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार