धेरै सदस्य भएका पाटन बारमा मतदान हँुदै

काठमाडौँ, २५ असार (रासस)ः

नेपालको ९० वटा बार इकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या भएको पाटन उच्च अदालत बार एसोसिएनको २०औँ नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ ।

नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी हुनुभएको छ ।

प्रगतिशील समूहमा नेकपा (एमाले) र समाजवादी निकट कानून व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातिन्त्रक समूहमा छन् ।

नयाँ कार्यसमितिमा पाँच र १४ गरी १९ सदस्य रहनेछन् । जस्मा पदाधिकारीका लागि १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् । बार निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार नयाँ कार्यसमितिका लागि बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको र बेलुका ५ः१५ सम्म मतदान जारी रहन्छ । आजै साँझ करिब ७ बजेतिर मतगणना सुरु गरिने निर्वाचन समितिको तयारी छ ।

उक्त बारमा दुई हजार ८२८ मतदाता छन् । दुईवर्षे कार्यकालका लागि उक्त निर्वाचन हुन भएको हो । यसअघि कोभिड–१९ को सङ्क्रमणका कारण नयाँ कार्यसमितिको निर्वाचन हुन केही ढिलाइ भएको थियो । विसं २०७५ भदौ १३ गते अघिल्लो निर्वाचन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार