काठमाडौं महानगरले साढे एक करोड खर्चेर ‘यम बुद्ध पार्क’ बनाउने भएको छ l

 

काठमाडौं, साउन ११

काठमाडौं महानगरपालिकाले साढे एक करोड खर्चेर र्‍यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने भएको छ।

र्‍यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका-१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जनाएका छन् ।

उनका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको हो।

 

‘नयाँबजारको जग्गामा पार्क बनाउने निर्णय गरिएको हो,’ मानन्धरले भने, ‘ त्यहाँ सात रोपनी क्षेत्रफलको जग्गा छ। त्यो सबै क्षेत्रफलमा पार्क बन्छ वा बन्दैन, टुंगो लागेको छैन।’

प्रवक्ता मानन्धरका अनुसार उक्त पार्क निर्माणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।

यम बुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने पनि मानन्धरले बताएका छन् ।

‘अरू पार्कमा जे-जति सुविधा हुन्छ, यो पार्कमा पनि त्यति नै हुन्छ,’ उनले भने, ‘अहिले बच्चाहरू खेल्नका लागि स्केटिङ पार्क पनि बनाउने योजना छ। अरू त सबै पार्कमा हुने कुरा भइहाल्छन्।’

यसअघि यम बुद्धको शालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो। उक्त निर्णयले महानगर विवादित समेत बनेको थियो। पछि मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका थिए।

 

अहिले बजेटमा थप्ने क्रममा नयाँ कार्यक्रम राखी उक्त कुरा थपेर बजेट ल्याएइको उनले बताए।

‘पार्कमा आवश्यकता अनुसार जे पनि हुन्छ,’ उनले भने, ‘पार्कभित्र र्‍यापर यम बुद्धको शालिक पनि हुन सक्छ।’

यम बुद्ध नेपालका चर्चित र्‍यापर थिए। उनले केही वर्षअघि बेलायतको लन्डनमा आत्महत्या गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार