प्रदेशसभाको बैठकमा यातायातसम्बन्धी विधेयक प्रस्तुत


सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन)अन्तर्गत आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबुल गरिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक टेबुल गर्नुभएको हो । बैठकमा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य कृष्णराज सुवेदीले समितिमा दफावार छलफल भई तयार पारिएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पर्याप्त कार्यसूची छैन

दशौँ अधिवेशनअन्तर्गत पछिल्लो पटक गएको साउन १८ गते बसेको बैठकपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक १७ दिनपछि आज बसेको हो ।

सरकारले पर्याप्त विजनेश (कार्यसूची) दिन नसकेका कारण प्रदेशसभाको बैठक बस्न ढिलाइ भएको हो । सभामुख अर्जुनबहादुर थापाले भन्नुभयो, “पर्याप्त विजनेश नहुँदा ढिलो गरी बैठक बसेको हो ।’’ चार विधेयक पारित गरेर अधिवेशन अन्त्य हुने बताइएको छ । पाँच वर्षअघि भएको निर्वाचनपछि गठन भएको पहिलो प्रदेशसभाको कार्यकालको यो अधिवेशन अन्तिम हो ।

आसन्न चुनावको मिति नजिकिँदै जाँदा प्रदेशसभाका सदस्यको टिकटका लागि दौडधूप बढेसँगै बैठकमा सदस्यको उपस्थिति पातलिएको छ । आजको बैठकमा झण्डै आधा सङ्ख्यामा मात्र प्रदेशसदस्यको उपस्थिति थियो । सभामुख थापाले भन्नुभयो, ‘‘चुनाव घोषणा भइसकेकाले प्रदेशसभाका सदस्यको उपस्थिति बैठकमा पातलिँदै गएको छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार