सर्वाेच्च अदालतकाे फैसलाः दिपक मनाङेलाई ५ वर्ष जेल सजाय

काठमाडौं, २ माघ । सर्वोच्च अदालतले मनाङ प्रदेशसभा–२ का सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय गर्ने फैसलालाई सदर गरेको छ।

न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने निर्णय गरेको हो।

पुनरावेदन अदालतले ०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो भने ज्यान मुद्दाका अन्य चार अभियुक्त रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने सफाइ दिएको थियो।

पुनरावेदनले मनाङेबाहेकलाई सफाइ दिएपछि यस विरुद्ध सरकारले ०७० जेठ १० गते पुनरावेदन गरेको थियो।

अन्य प्रतिवादीको हकमा पुनरावेदन दर्ता भए पनि मनाङेले भने हालससम्म पुनरावेदन गरेका छैनन्। सर्वोच्चले पुनरावेदनको निर्णय सदर गर्ने फैसला सुनाएपछि उनी पुरानै आदेश अनुसार स्वत: दोषी ठहर भएका हुन्।

जिल्ला अदालत काठमाडौंले मनाङेलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएको थियो। तत्कालीन समयमा उनले सो अवधिको सजाय काटिसकेका छन्। सर्वोच्चको फैसलापछि मनाङेले अब तीन वर्ष जेल सजाय भोग्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार