
सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरेर घाइते बनाएको घटनामा ४ जना पक्राउ परेका छन् ।
बागमती नगरपालिका–१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कार्कीमाथि बुधबार गोली प्रहार भएको थियो ।
घटनामा संलग्न भएको अभियोगमा ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनकौला गाउँपालिका–१ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी, भारत बिहार तरयानी छप्रा–८ बस्ने १९ वर्षीय रेहान भन्ने आलोक सिंह, भारत बिहार सुलतानपुर–१० बस्ने १९ वर्षीय सौरभकुमार यादव र भारत बिहार हराज–१२ बस्ने १९ वर्षीय गुलसनकुमार सिंह रहेका छन् ।
उनलाई बुधबार दिउँसो गोली प्रहार गरी घाइते बनाएको घटनाको थप अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न आलोक, सौरभकुमार, गुलसनलाई बलरा नगरपालिका–३ लक्ष्मीपुरबाट र धिरेन्द्रलाई धनकौल गाउँपालिका–१ बाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट प्रहरीले गोलीको खोका ४ थान र फायर भएको बुलेट ४ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

325 पटक हेरिएको 

