नापी विभागको टोली वीरगञ्जमा

 654 पटक हेरिएको

पर्सा । वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली  वीरगञ्ज पुगेको छ ।

छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज आएको हो ।

नापी विभागका निर्देशकद्वय दामोदर ढकाल र अनिल मरासिनीको नेतृत्वमा आएको टोलीले छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर गाडिने स्थानको नाप नक्सा गर्ने कार्य शुरु गरिएका छन् ।

सीमास्तम्भको छानबिन गर्न घटनास्थल पुगेका निर्देशक ढकालसँग बुझ्दा उनले छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को दश सहायक पिलरमध्ये चार पिलरमा विवाद देखिएकाले एलजिपिएस मेसिनबाट नापनक्सा गरेपछि मात्र गाड्न लागिएको स्तम्भ ठीक वा बेठीक स्थानमा भएकोबारे बताउन सकिने जानकारी दिए ।

उनले सन १८१६ मा ब्रिटिस सरकारसँग भएको सन्धिलाई आधार मानी नेपाल तथा भारत सरकारले तत्कालीन अवस्थामा रहेको नदी सिमाना मानी स्ट्रिप नक्सा तयार पारिएको र सोही नक्साका आधारमा सन् २०१४ देखि सीमाङ्कन कार्य थालनी गरिएको बताए ।

सन् १८१६ मा नदी बगेको धारलाई सीमा मानी दुई सेन्टिमिटरसमेत फरक नपर्ने गरी एलजिपिएस मेसिनबाट सीमा निर्धारण कार्य भइरहेको जानकारी निर्देशक ढकालले दिए । उनले वीरगञ्जको छपकैयामा देखिएको विवादबारे मेसिनबाट नापनक्सा गरेपछि सीमास्तम्भ गाड्न लागिएको स्थान ठीक वा बेठिक भन्न सकिने र यसमा तीनदिन समय लाग्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार