च्यम्पियन्स लिगमा पिएसजी द्वारा ७ गोलको वर्षा

युइएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन( पिएसजी) ले जित हात पारेकाे छ । उसले समूह`एच´अन्तर्गतकाे खेलमा इजरायलकाे मकाबी हाइफाविरुद्व ७-२ काे फराकिलाे जित हात पारेकाे हाे । याे जितसँगै पिएसजीले अन्तिम १६ मा स्थान बनाउँदा पराजित हाइफा समूह चरणबाटै बाहिरिएकाे छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउन लियाेनल मेस्सी र केलियन एम्बाप्पेले २/२ तथा नेयमार र कार्लाेस साेलरले १/१ गाेल गर्दा १ गाेल आत्मघाती उपहार स्वरूप प्राप्त भयाे ।

पाहुना टाेलीका लागि दुवै गाेल अब्दुलाये सेकले फर्काए ।
खेलकाे १९औं मिनेटमा मेस्सीकाे गाेलमार्फत पिएसजीले अग्रता लिएकाे थियाे । ३२औं मिनेटमा एम्बाप्पेले टाेलीकाे अग्रता दाेब्बर बनाए । ३५औं मिनेटमा नेयमारले पिएसजीका लागि तेस्रो गाेल गरे । ३८औं मिनेटमा हाइफका सेकले खेललाई ३-१काे अवस्थामा ल्याए ।

४४औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गाेल गर्दा पिएसजीले पहिलाे हाफमा ४-१ काे अग्रता लियाे । ५०औं मिनेटमा सेकले व्यक्तिगत दोस्रो गाेल गर्दै खेललाई ४-२ काे अवस्थामा ल्याए ।

६४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टाेलीका लागि पाँचौं गाेल गरे । ६७ औं मिनेटमा सेन गाेल्डबर्गले आत्मघाती गाेल गर्दा पिएसजी ६-१ ले अघि बढ्याे ।

८४औं मिनेटमा साेलरले गाेल गर्दै घरेलु टाेलीलाई ७-२ काे शानदार जित दिलाए । याे नतिजासँगै ५ खेलमा ११ जाेडेकाे पिएसजी शीर्ष स्थानमा रहँदा पराजित हाइफा समान खेलमा ३ अंकका साथ पुछारमा छ ।

यही समुहकाे अर्काे खेलमा बेन्फिकाले युभेन्टसविरुद्व ४-३ काे राेमाञ्चक जित हात पारेकाे छ । घरेलु मैदान स्टेडियाे डा लुजमा बेन्फिकालाई जित दिलाउन राफा सिल्भाले २ तथा जाओ मारियाे र एन्टाेनियाे सिल्भाले १/१ गाेल गरे । युभेन्टसका लागि माेइसे किन,आर्केडियस मिलिक र वेस्टन म्याकिनीले १/१ गाेल फर्काए ।

याे जितसँगै ५ खेलमा ११ अंक जाेडेर दोस्रो स्थानमा रहेकाे बेन्फिकाले अन्तिम १६ मा स्थान पक्का गर्दा पराजयसँगै समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा रहेकाे युभेन्टस समूह चरणबाटै बाहिरिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार