सुनसरी, ११ माघ । मनाङ मस्याङ्र्दी क्लब काठमाण्डौले गरिफा स्पोटिङ कोलकता भारतलाई हराउँदै ईटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । मनाङले कोलकता भारतलाई ० –३ गोल अन्तरले हराउदै फाईनलमा थ्रिस्टार सँगको भेट पक्का बनाएको छ ।

पहिलो हाफमा दुबै टिमले आक्रमक खेल खेलेका थिए । पाँच जना अफ्रिकी खेलाडी सहित मैदानमा छिरेको गरिफा कोलकता भारतले पहिलो हाफ अट्याकिङ खेल खेलेको थियो । राष्ट्रिय खेलाडीले भरीभराउ मनाङलाई पाहुना टोलीले दवावमा राखेको थियो । पहिलो हाफको अन्तिम ४४ मिनेटमा मनाङका स्टाईगर सन्तोष साहुखलले गोल अगाडी बढाउँने क्रममा गरिफा कोलकताका अब्बु बोकाईले फल गदै नियतबस अनुहारमा किक प्रहार गरे पछि रातो कार्ड पाए सँगै मैदानबाट बाहिरिएका थिए । पहिलो हाफ दुबै टिमले कुनै गोल गर्न सकेनन् ।
दश खेलाडीमा सिमित रहेको गरिफा कोलकतालाई दोस्रो हाफमा भने मनाङले सुरुवातदेखि नै दवावमा राखेको थियो । एक खेलाडी गुमाउँदै कमजोर बनेको कोलकतालाई दोस्रो हाफको दुई मिनेटमा सुजल श्रेष्ठको राम्रो पासको सदुपयोग गदै स्ट्राईकर साहुखलले गोल गरे । २२ औ मिनेटमा पुन साहुखलले भेक्टरको पासमा गोल गदै आफ्नो टिमलाई २ –० को अग्रता दिलाएका थिए ।
मनाङले एक खेलाडी गुमाएको कोलकताबाट पूर्ण फाईदा उठाउँदै दोस्रो हाफको ३० औ मिनेटमा वान टु वान बल क्यारी गदै विमल रानाले उत्कृष्ट गोल गरेका थिए । विहिवार भएको अन्तिम सेमिफाईनल खेलको म्यान अफ द म्याच मनाङका लोकप्रिय स्टाईगर सन्तोष साहुखल घोषित भए । उनले नगद १० हजार पाए । उनलाई सुनसरी क्षेत्रनम्वर २ का संसद सिताराम मेहेताले उक्त रकम प्रदान गरे ।

417 पटक हेरिएको 

