काठमाडौं । जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले घोषणा गरेको जनताको जलविद्युत् आयोजना कार्यक्रम बिहीबारदेखि कार्यान्वयनमा आउँदैछ। सो कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुनले माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको सेयर किन्ने भएका छन् ।
प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारबाट सेयरका लागि पहिलो आवेदन भर्दैछन् । यसका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा डिम्याट खाता समेत मंगलबार नै खोलिसकेको जनताको जलविद्युत कार्यक्रम संयोजन समितिका सदस्य सचिव एचआइडिसिएलका सिइयो छवि पोखरेलले बताए ।
नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको कार्यक्रमबाट जलविद्युत्मा करिब सात खर्ब रुपियाँ लगानी जुटाउने सरकारको लक्ष्य छ। त्यसका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना निश्चित गरिसकेको छ। मन्त्रालयले कार्यक्रमका लागि आवश्यक कार्यविधि यसअघि नै पारित गरिसकेको छ।
कार्यविधि अनुसार कार्यक्रम अन्तर्गतका आयोजनाको सेयर स्वामित्वमा ५१ प्रतिशत सरकारी स्वामित्वका कम्पनी र ४९ प्रतिशत सर्वसाधारणको सेयर रहने व्यवस्था गरिएको छ। त्यसमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ३९ प्रतिशत आमसर्वसाधारणका लागि छुट्याउने व्यवस्था गरिएको छ।

710 पटक हेरिएको 

