१७ असार, काठमाडौं । शुक्रबार पलेंटी शृंखलामा अग्रज स्रष्टा र नयाँ पुस्ताको संगम देखियो ।
दार्जिलिङबाट आफ्ना सिर्जना प्रस्तुत गर्न आएकी पाको पुस्ताकी संगीतकार तथा गायिका शान्ति ठटालका चर्चित गीतहरू गायिकाद्वय मीना निरौला र दार्जिलिङकी गायिका सोनू राईले गाएका थिए ।
पाँचौं पटक पलेँटीमा संगीतकारको रूपमा प्रस्तुत भएकी ठटालले गीतसँग जोडिएका रोचक संस्मरणहरू सुनाउँदै आफ्ना डेढ दर्जन सिर्जना पस्किइन् । नेपालयको ‘आर’ शालामा ‘आमा’ बोलको गीतबाट सुरू गरिएको कार्यक्रममा ठटालको रोजाइमा सोनू राईले चर्चित गीतहरू ‘उडी जाऊँ भने म पन्छी होइन’, ‘मेरो कथा खाली खाली’, ‘नयाँ नयाँ घामको किरण’ का साथै वसन्त थाम्सुहाङ रचित लोकभाकाको नयाँ गीत ‘देउरालीमा पाती राखी’ सुनाइन् ।
प्रस्तुतिका क्रममा संगीतकार ठटालले दार्जिलिङको सांगीतिक शैलीबारे प्रष्ट्रयाइन्, ‘शब्दमा धुनहरू भर्दा दार्जिलिङतिर आधुनिक शैली मात्र होइन, मादले, मारुनी, विरनी जस्ता ठेट भाकाहरूलाई पनि निकै महत्व दिइन्छ ।’
पलेँटी गायिका मीनाले ठटालका सदाबहार गीत ‘सम्हालेर राख’, ‘मेरो दु:खी मन’, ‘आकाश झुक्यो’ सहित पाँच वटा गीत सुनाएकी थिइन् । कतै रेकर्ड नभएको ‘कहिलेकाहीँ’ गीत उनको आवाजमा श्रोताले सुन्न पाएका थिए ।
संगीतकारको रुपमा मात्र प्रस्तुत भए पनि ठटालले ‘लिएको थिएँ तिम्रोबाट’ बोलको गीत सुनाएर आफ्ना प्रशंसकहरूलार्इ आनन्दित पारेकी थिइन् । ठटालले कोलकातामा सन् १९५६ रेकर्ड भएको आफ्नो पहिलो गीत ‘चाँदनी चाँदनी’ को पनि सम्झना गर्दै आफ्नो पहिलो गीतका गीतकार/संगीतकार खर्साङका ९० वर्षीय शिवप्रसाद सिंह भएको पनि जानकारी गराइन् ।
कार्यक्रममा मीना र सोनूले युगल स्वरमा प्रस्तुत भएका रिदमिक गीतहरू ‘रोक्दा रोक्दै’ र ‘मायालुले सम्झे कि कसो’ ले कार्यक्रमलाई थप रोमाञ्चक बनाएका थिए ।

510 पटक हेरिएको 

