१६ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको विवादास्पद यात्रा प्रतिबन्ध शुक्रबारबाट कार्यान्वयनमा आएको छ । अब ६ मुस्लिम बाहुल्य राष्ट्रका नागरिकहरु तथा सबै शरणार्थीले अमेरिका प्रवेश गर्न निकै कठिन हुनेछ ।
यो प्रतिबन्ध इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमनका नागरिकहरुमाथि लागू गरिएको हो ।
नयाँ व्यवस्थामा निकट परिवार वा व्यावसायिक सम्बन्ध नभएका मानिसलाई अमेरिकाको भीसा नदिइन सक्छ र प्रवेशमा रोक लगाइन सक्छ । यस विषयमा निःशुल्क सल्लाह दिन अमेरिकी विमानस्थलहरुमा कैयन् वकिल खटिएका छन् ।
जनवरीमा पहिलोपटक यो व्यवस्था लागू हुँदा ठूलै हंगामा भएको थियो । तर, यसपाली त्यस्तो केही छैन, किनकि कार्यकारी आदेशबाट ती व्यक्तिहरु प्रभावित हुने छैनन्, जोसँग पहिल्यै वैध भीसा वा ग्रिन कार्ड छ ।
ट्रम्पको यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेशमा लागेको रोक सोमबार त्यहाँको उच्च न्यायालयले हटाएको थियो । यद्यपि यस मामिलामा न्यायधीशहरुले यो प्रतिबन्धबाट ती व्यक्तिहरुलाई छुट्याएका थिए, जसको निकट नातेदार अमेरिकामा बस्छन् वा जो व्यक्ति अध्ययन गरिरहेका छन् । अमेरिकामा रहेका व्यक्तिहरुका आमाबाबु, बच्चा, पति वा पत्नीहरुमाथि यो प्रतिबन्ध लागू हुने छैन ।