
झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् ।
कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ । आजदेखि सो गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ ।
यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिनुभयो । झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।

173 पटक हेरिएको 

