इजरायल अपडेट : आतङ्ककारी हमलाका घाइतेमध्ये दुई नेपाली अस्पताल भर्ना

काठमाडौँ । आतङ्ककारी हमलामा घाइते भएकामध्ये दुई जना नेपाली अस्पताल भर्ना भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएकी छन् । उनले नेपाली दूतावासले निरन्तर घाइतेहरूको उपचारका लागि पहल गरिरहे पनि अवस्था प्रतिकुल रहेकाले कठिनाइ भइरहेको बताइन् । उनकाअनुसार घाइते अन्य दुई जना दूतावासको सम्पर्कमा रहे पनि अन्यसँग सम्पर्क स्थापित हुन सकिरहेको छैन ।

प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको जानकारी प्राप्त भएको रिजालले रातोपाटीलाई बताइन् । ‘दुई जना अस्पताल भर्ना हुन सफल हुनुभएको छ । अन्य घाइतेमध्ये दुई जना सम्पर्कमा भएपनि अरु अवस्था यकिन हुन सकेको छैन’, उनले रातोपाटीसँग भनिन् । घाइतेहरू उपचारविहीन अवस्थामा बङ्करमा रहेको बताइएको छ ।

राजदूत रिजालका अनुसार इजरायलको प्रायः सबैजसो भूभागमा अहिले कर्फ्यु लागेको अवस्था छ । दुई पक्षीय युद्ध चलिरहेको छ भने अवस्था निकै अशान्त रहेको छ ।

घटनामा परेका नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहेको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरतहरु हुन् । कृषि फार्ममा उनीहरू प्राक्टिकल गर्नेहरू रहेको बताइएको छ । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट त्यहाँ प्राक्टिकलका लागि पुगेका थिए ।

 

सो कृषि फार्ममा १७ नेपाली कार्यरत रहेको बताइएको छ । अन्य भने साइरन बजेसँगै बङ्करमा छिर्न भ्याएपछि जोगिएको बताइएको छ ।

 

घटनास्थलमा स्थानीय समयअनुसार बिहान ६ बजेतिर साइरन बजेको थियो । साइरन बजेको ६० सेकेन्डको टाइम बङ्करमा पुग्नुपर्ने हुन्छ । तर बङ्करमा जाँदाजाँदै उनीहरू कसैलाई गोली र कसैलाई गोलीको छर्रा लागेको बताइएको छ । गोली र छर्रा लागेर शरीरबाट रगत बगिरहँदा समस्या भएको घाइतेहरुले गैरआवासीय नेपाली संघ र दूतावासलाई बताएका थिए । पछिल्लो समय केही घाइते बेहोस अवस्थामा रहेको बताइए पनि प्रतिकुल अवस्थाका दूतावासले विस्तृत विवरण लिन नसकेको जनाएको छ ।

 

भट्टराईका अनुसार शनिबारको तुलनामा गाजा क्षेत्रमा भिडन्त कम हुँदै गएको छ भने इजरायली सेनाले अवस्थालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार