भारतको हरियाणास्थित रोहतकमा रोहतक दिल्ली बाइपासमा अवस्थित एउटा परौँठा पसल छ । तपस्या परौँठा जंक्सन नामक उक्त परौँठा भोजनालयमा गएर परौँठा खाँदा पैसा तिर्नुपर्ने होइन की उल्टै पैसा कमाइन्छ र जिन्दगीभर सित्तैमा खाने मौका पनि मिल्न सक्दछ ।
उक्त परौँठा भोजनालयमा गएर ५० मिनेटभित्रमा ३ ओठा परौँठा खान सक्नेलाई एक लाख भारुको विमा, एक लाख भारु नगद पुरस्कार तथा भोजनालयमा जिन्दगीभर सित्तैमा परौँठा दिने अनौठो पुरस्कार प्रदान गरिन्छ ।
अहिलेसम्म रोहतकका अश्विनी तथा मध्यप्रदेशका महाराज नामका दुईजना व्यक्तिले मात्र उक्त चुनौति पार गरेर पुरस्कार प्राप्त गरेका छन् ।
उक्त परौँठा भोजनालयका मालिक मुकेश गहलावतका अनुसार उनले १० वर्षदेखि उक्त परौँठा भोजनालय संचालन गर्दै आएका छन्। उनको भोजनालयमा झण्डै २ फिटका परौँठा तयार गरिन्छ, जसको वजन १२ सय ग्राम हुन्छ ।
मध्यप्रदेशका महाराज नामक व्यक्तिले ५० मिनेटमा ४ वटा परौँठा बुत्याए । उता रोहतकका अश्विनीले चाहीँ ४० मिनेटमै ३ वटा बुत्याए र पुरस्कार जिते । ती दुई जवान बाहेक अरुले अहिलेसम्म परौँठा खाने चुनौति पार गर्न सकेका छैनन् ।
तपस्या परौँठा भोजनालयमा टाढा टाढाबाट परौँठाको स्वाद लिन मानिसहरु आउँछन् । उनको भोजनालयमा विभिन्न ४० थरी परौँठा तयार पारिन्छ । २ फिटे परौँठाको मूल्य चाहीँ साढे ३ सय भारु पर्दछ । एजेन्सी