७ असार, उदयपुर । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अलपत्र परेका छन् ।
काठमाडौंको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट यहाँका मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन साता अघि साउदीमा पुगेका १७ जना युवा अहिले बिचल्लीमा परेको एक पीडित युवाका दाजु होमराज राईले जानकारी दिएका छन् ।
साउदीमा बिचल्ली हुनेहरुमा उदयपुरका गोविन्द खड्का, होमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्र बस्नेत, तेजबहादुर कटुवाल, वसन्त राई, दुर्गानारायण श्रेष्ठ, तेजबहादुर कटुवाल, उमेश खड्का, युवराज कार्की, सोभित राई, तोपबहादुर मगर, मोहन राई, मनोज राई, मातृका घिमिरेसहितका युवा रहेका पीडितका आफन्तले बताए ।
प्रतिव्यक्ति रु एक लाखका दरले रकम लिएर युवालाई गाईघाटका म्यानपावर सञ्चालक लिम्बू दम्पतीले काठमाडौंको मुख्य म्यानपावर साउनलाइन्स मार्फत साउदी पठाए पनि साउदी पुगेका युवाले सम्झौताअनुसार काम नपाएको र अहिले बिजोग अवस्थामा होटलमा बस्नु परिरहेको राजन कार्कीका दाजु सरोज कार्कीले जानकारी दिए ।
म्यानपावर सञ्चालक लिम्बूद्वय भने सम्पर्कविहीन अवस्थामा रहेको पनि पीडितका आफन्तहरुले बताएका छन् ।

800 पटक हेरिएको 

