एजेन्सी । युरोप भ्रमणका क्रममा फ्रान्स पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केबलकारमा झण्डै एक घण्टा अड्किएका छन्। फ्रान्सको एक स्थानीय अनलाइन लेदोफिने डटकमले हिमाली क्षेत्रमा निर्माण गरिएका केही खेलकुद प्रशिक्षण केन्द्रको अवलोकनका क्रममा प्रधानमन्त्री ओली केबलकारमा अड्किएको जनाएको छ।
फ्रान्सको ४ हजार ८ सय १० मिटर अग्लो मोन्ट ब्लान्स हिमाललाई जोड्ने केबलकार करिब २५ सय मिटर उचाइमा पुगेपछि अड्किएको थियो । प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्व मिस नेपाल श्रृंखला खतिवडालगायत नेपाली प्रतिनिधि मण्डलका केही सदस्यहरू केबलकारमा थुनिएको अनलाइनले जनाएको छ । केबलकार यात्राका क्रममा तीव्र गतिमा हावा चल्दा केबलकार कम्पनीको प्राविधिक टोलीको सुझावका आधारमा बन्द गरिएको थियो ।
हावा चल्न कम भएपछि पुनः केबलकारबाट हिमाल अवलोकन गरी प्रधानमन्त्रीसहितको नेपाली टोली फर्किएको थियो। प्रधानमन्त्री ओलीसँग मोन्ट ब्लान्स केबलकार कम्पनीका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु डेक्वान, कार्यकारी अधिकृत हाउट सावेई लगायतको टोली पनि केबलकारमा रहेको जनाइएको छ। प्रधानमन्त्री ओली फ्रान्स भ्रमण सकेर पुनः स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

950 पटक हेरिएको 

