एक करोडको जग्गादातालाई सम्मान गर्दै अस्पताल शिलान्यास

आफ्नै गाउँमा अस्पताल निर्माण गर्न सहयोग पुगोस् भनेर जग्गा दान गर्ने स्थानीयवासी तीन जना आज सम्मानित भएका छन् ।

खडक नगरपालिका–८ विसनपुरस्थित १५ कठ्ठा १९ धुर जग्गा दान गर्ने श्रेष्ठ परिवारका तीन जनालाई नगरपालिकाले अस्पताल शिलान्यासका अवसरमा सम्मान गरेको हो । जग्गादाता सूर्यनारायण श्रेष्ठ, लोकेन्द्र्रनारायण श्रेष्ठ र दीपककुमार श्रेष्ठले आफ्नो नाममा रहेको जग्गा स्थानीय सरकारलाई संयुक्तरूपमा नै पारित गरेर दिएको नगरपालिकाका प्रशासकीय अधिकृत वसन्त दासले जानकारी दिनुभयो ।

उक्त जग्गाको मूल्य करिब रु एक करोड पर्ने स्थानीय दीपेश चौधरीले बताउनुभयो । सो जग्गामा आज एक समारोहका बीच नगर प्रमुख जयप्रकाश चौधरीले १५ शय्याको आधारभूत अस्पतालको शिलान्यास गर्नुभयो । प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग रु २१ करोड २९ लाख चार हजार एक सय नौ मा भवन निर्माणको ठेक्का सम्झौता भएको नगर प्रमुख चौधरीले बताउनुभयो । नगर प्रमुख चौधरीका अनुसार तीन वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

शिलान्यास समारोहमा नगर उपप्रमुख रीताकुमारी चौधरी, पूर्वनगर प्रमुख हेमायु हक, प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्ण, दाता परिवारका सदस्य, वडाध्यक्ष, पूर्ववडा अध्यक्षलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

जग्गादाता दीपककुमार श्रेष्ठले स्थानीय तहसम्म सहजरूपमा स्वास्थ्य सेवा पु¥याउने नेपाल सरकारको उद्देश्यमा सहयोग गर्न काका, भतिजाको संयुक्त नाममा रहेको जग्गा दान गरेको बताउनुभयो ।

यसअघि सप्तरीको कञ्चनरूप नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्र र तिरहुत गाउँपालिकास्थित लोहजारा स्वास्थ्य केन्द्रलाई १५–१५ शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्न ०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो । कञ्चनरुरूप नगरपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रसँगै जोडिएको पाँच कठ्ठा जग्गा खरिद गरेर निर्माण कार्य सुरु गरिएको छ । सुरुङ्गा नगरपालिका–६ कडरबोनास्थित प्राथमिक स्वास्थ्य केन्द्रको टेण्डर प्रक्रियामा विवादका कारण निर्माण कार्यमा ढिलाइ भएको छ । तिरहुत गाउँपालिका–५ स्थित लोहजारा स्वास्थ्य केन्द्रको डिपिआर र टेण्डर भइसकेर निर्माण कार्य सुरुआतका क्रममा रहेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर, छिन्नमस्ता गाउँपालिका–३ सखडा, सप्तकोसी नगरपालिका–५ र अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ महुलीमा १५ शय्याको अस्पतालका लागि माटो परीक्षण, डिपिआर र टेण्डर प्रक्रियामा रहेकाले शिलान्यास हुन बाँकी रहेको छ ।

आव २०७७/०७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने सरकारले नीति लिएको थियो । सोही नीतिअनुरूप सङ्घीय सरकारले चरणबद्धरूपमा पाँच, १० र १५ शय्याको अस्पताल निर्माण गर्न बजेट विनियोजन गर्दै आएको छ । अस्पताल निर्माणको सम्पूर्ण काम भने स्थानीय तहले गर्नुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार