कमजोर रेटिङ र नेटवर्थ भएका सेयर सबै बिक्री हुने प्रत्याभुतिपछि मात्र निष्काशन

१७ असार, काठमाडौं । धितोपत्र बोर्डले सबैभन्दा कमजोर रेटिङ पाएको कम्पनीको सेयर सबै बिक्री हुने प्रत्याभुतिपछि मात्र निष्काशन अनुमति दिने नयाँ व्यवस्था गरिएकोले आँखु खोला जलविद्युतले अनुमती पाउन ढिला भएको स्पष्ट पारेको छ ।

कम्पनीले स्थानीयको लागि ८ करोड रुपैयाँ बारबरको सेयर निष्काशन गर्न भन्दै २०७३ जेठ ३१ गते आवेदन दिएको थियो । धितोपत्र बोर्डले कमजोर रेटिङ प्राप्त गरेको कारण यस्ता कम्पनीहरुलाई नीतिगत व्यवस्था गर्न केही समय लगाएको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ जारी गरेर यस्ता कम्पनीले अनिवार्य सेयर प्रत्याभूती गरेपछि मात्र अनुमति दिन सकिने व्यवस्था गर्यो ।

सबै सेयर बिक्री हुने अवस्था नआएमा कम्पनीहरुले सेयर प्रत्याभूतीकर्ताहरु मार्फत् सेयर प्रत्याभूती गराउछन् । यसअघि सबैले कम्तिमा निष्काशन गरिने मध्ये ५० प्रतिशत सेयर प्रत्याभूती गर्नुपर्ने व्यवस्था रहेको भएपनि यो संँगै कम रेटिङ प्राप्त गर्ने वा नेटवर्थ प्रतिसेयर अंकित मूल्य (१ सय) भन्दा कम भएमा पनि सबै सेयरको प्रत्याभूती गराउनु पर्नेछ ।

आँखु खोला जलविद्युत् आयोजनाले जुलाई २०१६ मा सबैभन्दा कमजोर रेटिङ ग्रेड ५ पाएको थियो । २०७३ असोजमा धितोपत्र बोर्डमा स्थानीयको लागि सेयर अनुमती माग्न पुगेको गरजंग उपत्यका जलविद्युत कम्पनीले हाल सम्म रेटिङ गराइ नसकेकोले अनुमती दिन ढिला भइरहेको धितोपत्र बोर्डले स्पष्ट पारेको छ । कम्पनीले स्थानीयको लागि २ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमती मागेर बसेको छ । कम्पनीलाई धितोपत्र बोर्डले गत बैशाख १० गते पनि पत्राचार गरेको थियो ।

चुक्ता पुँजी वृद्धिको लागि रेटिङ गराउन नपर्ने कम्पनीहरुलाई सेयर निष्कासन अनुमती दिन परेकोले अन्यलाई अनुमती दिन ढिला भएको भन्ने खबर सही नभएको समेत धितोपत्र बोर्डले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार