
काठमाडौ, १ असोज (रासस) ः ‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भन्नुभयो । मानिसहरु परिवर्तन चाहन्छन् । परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन् हुन्छन् । तिनै उदाहरण हुन् वैज्ञानिक, आविष्कारक र सामाजिक अभियन्ताका रुपमा चिनिने महावीर पुन जसले वैज्ञानिक आविष्कार गरेर नेपालको पहिचानलाई विश्वभर पु¥याउनुभयो ।
विरलै भेटिन्छन् यस्ता मान्छे जो पैसादेखि डराउँछन् । यो त्यही समाज हो जहाँ पैसा कमाउन र सम्पत्ति जोड्न मानिले हदैसम्म गर्छन् । तर पैसाको पछि नलाग्ने, देशको उन्नति र युवाको भविष्यमा चिन्तित पुन पनि यही समाजमा भेटिन्छन् र अझै पुन जस्ता नेपाली आमाका सपुतहरु राष्ट्रका लागि धेरै जन्मनुपर्छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र बिबी फाउन्डेशनको संयुक्त पहलमा नगद रु एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो ।
प्रसिद्ध म्यागासेसेलगायत दर्जनाँै पुरस्कार प्राप्त गरिसक्नुभएका पुनलाई पुरस्कार र मान पदवीप्रति कत्ति पनि मोह छैन । उहाँ भन्नुहुन्छ, “पुरस्कार पाउँदा सुरुमा सबै खुसी हुन्छन् । पुरस्कार, पदक र सम्मान हौसला प्रदानका लागि हुन् । मलाई अवार्ड दिन चाहनेलाई भन्ने गरेको छु, पुरस्कार मलाई नदिनुस् भनेर घोषणा गरेको छु, ती पुरस्कार युवालाई दिनुस् जसबाट अनुसन्धान र आविष्कार गर्न प्रेरणा मिलोेस् । मेरो नाम जोडिएर आएको पुरस्कार लिन्न ।”
महावीर पुन सतकर्मको परिचय पनि हो । समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र । साना–साना अनुसन्धान र कार्यबाट देश तथा विदेशका विशिष्ट परिचय बनाउनुभएको छ पुनले ।
अहिले राष्ट्रिय आविष्कार केन्द्रका लागि वैज्ञानिक अनुसन्धानकर्ताका रुपमा नभई एउटा गोठालेका रुपमा काम गरिरहेको पुन बताउनुहुन्छ । “म अनुसन्धान आविष्कारक हैन । गोठालेका रुपमा काम गरिरहेको छु । आविष्कार भनेको आउने युवा वैज्ञानिकको सीप उपयोग गर्ने फोरमका रुपमा स्थापित गरिरहेको छु”, उहाँले भन्नुभयो ।
विसं २०११ माघ ९ गते म्याग्दीको नागी गाउँमा जन्मनुभएका पुनले गाउँमै प्रारम्भिक शिक्षा हासिल गर्नुभयो । जहाँ कलम हैन ढुङ्गाले लेखिन्थ्यो । संयोगले अमेरिकामा स्नातक अध्ययनको छात्रवृत्ति पाउनुभयो । जसले पुनको जीवनलाई बदलिदियो । अमेरिकाको नेब्रास्का राज्यमा रहेको नेब्रास्का विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरेपछि पुन नेपालको शैक्षिक तथा आर्थिक विकासका लागि नमूना शिक्षा प्रदान गर्ने स्कुल स्थापना गर्ने साहस र महत्वकाङ्क्षी लक्ष्य लिएर गाउँ फर्किनुभयो ।
पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, महान् आविष्कारक तथा सामाजिक अभियन्ता भनेर चिनिनुहुन्छ । पुनले म्याग्दीका दुर्गम गाउँमा कम्प्युटर प¥ुयाउनुभयो । इन्टरनेट जोडेर उदाहरणीय काम गर्नुभयो । बिग्रेका कम्प्युटरहरूको पार्टपुर्जा जोडेर गाउँमा कम्प्युटर आविष्कार गर्नुभयो अनि वायरलेस प्रविधिमार्फत गाउँ–घर र त्यहाँका विभिन्न विद्यालयमा इन्टरनेट पु¥याउनुभयो ।

179 पटक हेरिएको 

