यस्ताे छ दिल्ली भ्रमणमा प्रधानमन्त्री अाेलीले विताउने ३ दिनकाे कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि तीन दिने भारत भ्रमणमा निस्किएका छन्। ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री आज बिहान ९ बजे भारत भ्रमणमा गएका हुन्।

भ्रमण टोलीमा पत्नी राधिका शाक्य, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने छन् ।

शुक्रबारः
प्रधानमन्त्री दिल्ली ओर्लेर सीधै भारतीय राष्ट्रपति भवन जानेछन् । त्यहाँ केही समय आराम गरेपछि उनले भारतीय व्यवसायीसँग छलफल गर्ने छन्।  आजै नेपाली दूतावासमा प्रधानमन्त्रीले नेपाली समूदायसँग छलफल गर्ने छन्। साँझ नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने छन्।

शनिबारः
प्रधानमन्त्री अाेलीलाई शनिबार औपचारिक रुपमा स्वागत गरिनेछ। ओलीलाई गार्ड अफ अनर प्रदान गरिने र राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम निर्धारण भएकाे छ ।

शनिबार बिहान नै उनले भारतीय राष्ट्रपति रामनाथ कोबिन्द तथा उपराष्ट्रपति एम वैंकया नायडुसँग शिष्टाचार भेट गर्ने छन्।

त्यसपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट हुनेछ। साथै, प्रधानमन्त्री ओली उनको सम्मानमा मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने छन्। दुई पक्षीय सहमतिमा भएका हस्ताक्षरलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ।

दुवै देशका प्रधानमन्त्रीले वीरगंजमा बनेको एकीकृत चेक पोष्टको संयुक्त रुपमा दिल्लीबाट स्वीच थिचेर उद्घाटन गर्ने छन्।

साँझ प्रधानमन्त्रीले इण्डिया फाउन्डेशनले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा सहभागिता जनाउने छन्।

आइतबारः
उत्तराखण्डको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने विशेष दीक्षान्त समारोहमा सहभागी भई विश्वविद्यालयले प्रदान गर्ने मानार्थ विद्यावारिधी ग्रहण गर्ने छन्। कार्यक्रमबाट उनी दिल्ली नै फर्किने छन्। आइतबार साँझ प्रधानमन्त्री ओली नेपाल फर्किने छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार