अघिल्लाे वर्षकाे तुलनामा यसवर्ष झन् बढ्याे बेरूजु

काठमाडौँ । सबै सरकारी तथा संगठित संस्था र सार्वजनिक संस्थानको आर्थिक वर्ष २०७३/७४ मा कूल बेरुजु रु पाँच खर्ब आठ करोड पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयले आज राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा मन्त्रालय तथा सरकारी निकायकै बेरुजु भने रु ९४ अर्ब ८१ करोड ५४ लाख ४७ हजार पुगेको छ । गतवर्ष असुल फछ्र्योट गर्नु पर्ने बेरुजु तथा कारबाही गरी टुङ्गो लगाउनु पर्ने अन्य रकम रु तीन खर्ब ९६ अर्ब २६ करोड रहेको थियो ।

सबै सरकारी संस्था, वा संगठित संस्था तथा निकायको यसवर्ष सरकारी निकाय, संगठित संस्था, स्थानीयतह, जिल्ला समन्वय समिति समेतको रु ४६ खर्ब ८७ अर्ब ९१ करोडको लेखापरीक्षण सम्पन्न भएको छ ।

स्थानीय तहतर्फ साविकका तीन हजार ३ सय ७४ स्थानीय निकाय र संविधानअनुसार स्थापना भएका ७४४ स्थानीय तहमध्ये ७३८ को रु एक खर्ब ८० अर्ब ३१ करोडको लेखापरीक्षणबाट रु १४ अर्ब २५ करोड अर्थात् ७.९० प्रतिशत बेरुजु कायम भएको छ । महोत्तरीका छ स्थानीय तहको भने कुनै पनि कागजात हालसम्म प्राप्त हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

गत वर्षसम्मको बाँकी बेरुजु दुई खर्ब २२ अर्ब ५३ करोडमा यो वर्ष ५२ अर्ब ९१ करोड फछ्र्योट भएको छ । बाँकी रहेको रु एक खर्ब ६९ अर्ब ६२ करोडमा यो वर्षको बेरुजु रु एक खर्ब २० अर्ब ९१ करोड समेत रु दुई खर्ब ९० अर्ब ५३ करोड बाँकी रहेको छ । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष रु १४ अर्ब नौ करोड असुल गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार