गोरखाल्याण्डको माग चरम रूपले ब्युँतिएको छ । नेपाली भाषी दार्जिलिङ्गेहरू फेरि संगठित रूपमा यस मुद्दालाई पुनर्जीवित गर्दै सडकमा उत्रिएका छन् । कारण थियो, नेपाली भाषीहरूको बाहुल्य रहेको सो क्षेत्रको पाठ्यक्रमहरू सबै बंगाली भाषामा पढाइ गर्नुपर्ने पश्चिम बंगाल सरकारको उदघोष ।
सरकारको दमनका विरूद्ध रणसंग्राममा उत्रेका केहीको ज्यान समेत गैसकेको छ। पछिल्लो अवस्था हेर्दा आन्दोलन अझै चर्किने र गोरखा मुक्तिमोर्चा लगायत अन्य सहयोगी दलहरूले अबको लडाई अन्तिम र निर्णायक हुने बताईरहँदा विश्वभरि छरिएर रहेका नेपालीभाषीहरू वीच भने भारतीय नेपालीभाषीले गोरखा शब्द प्रयोग गरेको भन्दै विभिन्न अनलाइन छापामा दुखेसो पोखेका छन्, आपत्ती जनाएका छन् र गोरखा शब्द प्रयोग गर्ने अधिकार भारतीय नेपालीभाषीमा नभएको भन्दै एक अर्कावीच वाकयुद्ध शुरू गरेका छन् ।
यसले अहिले हामी नेपाली नेपालीवीच विभिन्न प्रश्नहरू उब्जाएका छन् । के गोरखा शब्द नेपालको भौगोलिक सीमानाभित्र रहेका नेपालीहरूको मात्र जन्मसिद्ध अधिकार हो ? के गोर्खाली शब्द गण्डकी अञ्चलको गोरखा जिल्ला भित्र बसोबास गर्ने नेपालीहरूको मात्र पेवा हो ? के गोर्खाली शब्द विश्वभरि क्रियाशील भारतीय, ब्रिटिश, मलेशियन, मकाउ वा सिङ्गापुरे गोर्खा सैनिकको मात्र हो? के गोरखा शब्द नेपाली भाषा बोल्ने नेपालीहरूको मात्र जन्मसिद्ध अधिकार हो ? वा के नेपालीभाषी भारतीयहरूले आफूलाई गोरखा भन्न् नपाउने ? यावत प्रश्नहरूको चिरफार गर्न इतिहासतर्फ नफर्की हामीलाई सुखै छैन ।
सामाजिक सञ्जाल फेसबुकले जसरी अहिले विश्व व्यापकता पाएको छ, विश्वभरि चर्चित छ, यस्तो होला भनेर पहिले सायदै कसैले सोचेका थिएनन् होला, अहिले विश्वको चर्चित ब्राण्डको रूपमा हाम्रो सामू खडा भएको छ ।
त्यस्तै, गोरखा राज्य र ईष्ट ईण्डिया कम्पनी बिच सन् १८१४ देखि १८१६ सम्म चलेको एंङ्गलो नेपलिज युद्धमा नेपाली सेनाले अदम्य साहसका साथ बहादुरी नदेखाएको भए गोरखा नामको अन्तर्ष्ट्रिय ब्राण्ड सायदै यसरी विश्वप्रख्यात हुने थिएन होला, विश्वले चिन्ने थिएनन् होला । अहिले हामी नेपालीहरूको यसै ब्राण्डलाई भारतीय नेपालीभाषीले प्रयोग गर्न नहुने भनेर भनिरहेका छौं । भारतीय नेपालीहरूले राखेको गोरखाल्याण्डको नाम परिवर्तन हुनुपर्ने जनाइरहेका छन् र उनीहरूको गोरखाल्याण्डको मुद्दामा ऐक्यवद्धता जनाउन हिच्किचाइरहेका छन् ।
गोरखा शब्दावली र नामाकरणः
सो क्षेत्रको नाम गोरखा कसरी रहन गयो र गोरखा शब्दको उत्पत्ति कहाँबाट भयो भन्ने बारे धेरै इतिहासविदहरूको भनाइ मिल्छ । गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट गोरखा रहन गएको मानिन्छ । गोरखनाथलाई गोरक्षनाथ पनि भनिन्छ जसको अर्थ गोरक्ष वा गाईको रक्षा (गो रक्षा) गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम “गोरखा” रहेको मानिन्छ ।
अर्को थरिको भनाइ अनुसार नेपाली भाषामा घाँसको फाँटलाई खर्क भनिन्छ र खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदा हुँदै गोरखा भएको पनि भन्ने गरिन्छ । यो जिल्लाभित्र घाँसका ठूला ठूला फाँटहरु/खर्कहरु भएका प्रशस्त भूभागहरू छन् । मल्लकाल तथा लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ । जयदेव द्धितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो ।
यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकाले सोही ठाउँका आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ ।
गोरखा वशांवलीका अनुसार राजा नरेन्द्रदेवका पालामा गुरु गोरखनाथ नेपाल आउँदा उनको अनादर गरेको भनी रिसाएर काठमाडौंवाट गोरखनाथ यो पश्चिमी पहाडी भागमा आई तपस्यारत रहनुभयो । यसै स्थानमा उनको पवित्रताको प्रभावले गोरखा नाम रहन गयो भनेर भनिन्छ ।
किवंदन्ती अनुसार, एकपल्ट काठमाडौं उपत्यकामा ठूलो खडेरी पर्यो। पानीको हाहाकार भयो, खेतहरू सुक्न थाले । अन्नबालीहरू नहुने भएपछि आसामको कामाक्ष भन्ने ठाउँमा रहेको एकदम चर्चित महायोगी गोरखनाथलाई उपत्यका भित्र रहेका चारवटै राज्यले संयुक्त रूपमा निम्तो गरेर मत्स्येन्द्रनाथको पूजापाठ र यज्ञका लागि बोलाइयो । गोरखनाथ वास्तवमा नाथ सम्प्रदायको नवौं महागूरू र मत्स्यन्द्रनाथका शिष्य थिए । महायोगी मत्सयेन्द्रनाथको सेतो, रातो पूजाआजा गर्ने चलन, नागपूजा गर्ने चलन आदि उपत्यकामा गोरखनाथको आगमनपछि मात्र चलेको देखिन्छ ।
ललितपुरको बुङमतीमा राक्षसको वास भएको र जसको कारणले पानी नपरेको भन्ने किवंदन्ती पनि रहेको छ । महायोगी गोरखनाथले गरेको मत्स्येन्द्रनाथको विशेषपूजा पश्चात काठमाडौंमा फेरि मुसलधारे बर्षात भएका कारण नेपालवर्षमा गोरखनाथको उपयोगिता धेरै भएको देखिन्छ तत्पश्चात गूरू गोरखनाथको आगमन विभिन्न कालखण्डमा धेरैपल्ट भएको देखिन्छ ।
वर्तमान गोरखा जिल्ला नेपालको इतिहासमा ऐतिहासिक स्थानको रुपमा रहेको छ । वर्तमान नेपालको भूगोल कायम रहनुका पछाडि गोरखा जिल्लाको महत्वपूर्ण स्थान र भूमिका छ । गोरखाले वर्तमान नेपालको भौगोलिक जग वसाल्नुपूर्वको स्थितिमा अन्यत्र जस्तै गोरखा जिल्लाका विभिन्न इलाकाहरुमा पनि आ–आफ्नै शासकहरु थिए । उनीहरु वीचमा हुने युद्धले स्थिरता खोजिरहेको थियो ।
यसै समयमा वि स १६१६ सालमा लमजुङे राजा यशोव्रम्हा शाहका कान्छा छोरा द्रव्यशाहवाट स्थापित गोरखा राज्य इतिहासमा विभिन्न प्रकारका चक्कर खादै वर्तमानमा गणतन्त्र नेपालको अवस्थामा आइपुग्न सफल भयो ।
इतिहास फर्केर हेर्दा
द्रव्य शाहले वि स १६१६ देखि १६२७ सम्ममात्र गोरखामा शासन गरे । त्यस पछि उनका शाही उत्तराधिकारीहरुवाट शासन सञ्चालन हुन गयो ।उनका सुयोग्य उत्तराधिकारी रामशाहले १६६३–१६९३ सम्म शासनकालमा गोरखामा रीतिस्थिति वाधिएकाले चर्चित तथा न्यायिक बन्यो ।
यसका आधारमा न्याय नपाए गोरखा जानु भन्ने उक्त्ति प्रचलनमा आयो । उनीपछिका उनका उत्तराधिकारीहरुले सामान्य ढगंवाट राजकाज चलाउँदै परम्परा धान्दै गए । हुने विरुवाको चिल्लोपात भने झैं पृथ्वीरायण शाहको पालामा गोरखा विशाल गोरखाको रुपमा आफना भौगोलिक सीमानाहरु उत्तरी र दक्षिणी वादशाहहरुलाई चकित पार्ने गरी विस्तारित हुँदै गए । उनका उत्तराधिकारीहरुले यो अभियानलाई अझै अगाडि बढ्दै दक्षिणी विशाल फाँटहरुसम्म आफ्नो अधिपत्य कायम गरे ।

1759 पटक हेरिएको 

