१७ असार काठमाडौं । विद्युत् प्राधिकरणले मर्स्याङ्दी स्युचाटार १ सय ३२ केभी प्रसारणलाइनको मर्मत अन्तिम चरणमा पुर्याएको छ । यो प्रसारण लाइन अन्तर्गतको धादिङमा रहेको १ सय ७९ नम्बरको टावर लामो समयदेखि जोखिममा थियो ।
जोखिमममा रहेको टावर जुनसुकै समयमा पनि ढल्नसक्ने स्थितिमा थियो । दुई वर्षअघि गएको भूकम्पका कारण जोखिम बनेको टावरलाई प्राधिकरणले मर्मत गर्न सकेको थिएन ।
यो प्रसारण लाइन अन्र्तगतको १ सय ७९ नम्बरको टावर जुनसुकै समयमा पनि ढल्न सक्ने र यसले काठमाडौं उपत्यकालाई अन्धकार बनाउन सक्ने सम्भावना थियो ।
दुई दिनदेखि विद्युत् प्रसारण बन्द गरेर मर्मत कार्य भइरहेकोमा शनिबार ३ बजेदेखि यसको सम्पुर्ण मर्मत कार्य सकिन लागेको बिद्युत प्राधिकरणले जानकारी दिएको छ । यो प्रसारणलाइनबाट काठमाडौं उपत्यकामा अहिले ९० मेगावाट विद्युत् आयात भइरहेको छ । काठमाठौंमा आवश्यक ३ सय मेगावाटमध्ये एक तिहाई बिद्युत यही प्रसारणलाइनबाट आउँछ ।
अहिले १ सय ७९ नम्बर टावर सट्टामा अर्काे दुईवटा टावरको निर्माण गरेर तारहरु जोड्ने कार्य भइरहेको नेपाल बिद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । २ करोड ७० लाखमा प्राधिकरणले १ सय ७८ र १ सय ८० नम्बरका दुईवटा टावरको निर्माण गरेको छ ।
निर्माण भएका टावरमा हिजोसम्ममा आरफेज जोडिसकिएको छ । आज तिन बजेसम्ममा वाइ र बी फेज पनि जोडिसक्ने अधिकारी बताउँछन् । यसको मर्मत तीन महिनाअघिदेखि सुरु भएको थियो ।
प्रवक्ता अधिकारीले भने ‘गत दुई वर्षदेखि जोखिममा रहेको टावरले काठमाडौं उपत्यकालाई जुनसुकै सयममा पनि ब्ल्याक आउट गर्न सक्दथ्यो, अब यसको मर्मत लगभग सकिन लागेको छ अब हामीले काटमाडौं उपत्यकालाई ब्ल्याकआउट हुनबाट बचायौं ।’
दुई दिनयतादेखि ९० मेगावाटको मागलाई पूर्ति गर्न प्राधिकरणले कुलेखानीलाई पुर्ण क्षमतामा चलाएको छ । जसले गर्दा काठमाडौंमा लोडसेडिङ हुन पाएको छैन ।
यो १७९ नम्बरको टावर लामो समयदेखि उच्च जोखिममा रहेको भएपनि प्राधिकरणले यसको बारेमा बाहिर खुलासा गरेको थिएन ।
अधिकारी भन्छन् ‘लोडसेडिङ हुनसक्छ भन्ने खालको कुराहरु बाहिर आएभने यसबाट नाफा उठाउन खोज्ने ठूलो जमात छ , त्यस्तो जमातलाई फाइदा नपुगोस् भनेर यसलाई गोप्य राखेका थियौं ।’