एकीकृत कारोबार सुरु गरेको कुमारीले लाभांश दिएर बाँकी पुँजी पुर्याउने

१६ असार, काठमाडौं । ३ बिकास बैंक र १ वित्तीय संस्था प्राप्ति (एक्वायर) गरेको कुमारी बैंकले शुक्रवारबाट एकिकृत कारोबार शुरु गरेको छ ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली बिकास बैंक, काँक्रेबिहार बिकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ति गरेको हो । बैंकले राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याउन एक्वायरपछि ५९ करोड रुपैयाँ अपुग हुने भएको छ । तर चालु आवमा बैंकको नाफा अर्ब माथी हुने र २० प्रतिशत बोनस सेयर दिएरै चुक्ता पुँजी पुग्ने अवस्था रहेको बैंकका सञ्चालक डा. शोभाकान्त ढकालले शुक्रवार आयोजित कार्यक्रममा जानकारी दिए ।

एक्वायर पछि बैंकको निक्षेप ५२ अर्ब कर्जा ४५ अर्ब पुगेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र भण्डारी नियुक्त भइसकेका छन् । उनले केही दिनमा कारभार सम्हाल्ने बुझिएको छ ।

बैंक सञ्चालकलाई गभर्नरको चेतावनी !

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले कुमारीका सञ्चालकलाई व्यवस्थापनमा हस्तक्षेप नगर्न भनेका छन् ।

‘मैले यस बैंकका सञ्चालकहरुको हस्तक्षेपको बारेमा बाहिर सुन्दै आएको छु, मैले एक सातामा सीईओ नियुक्ति गर्नुस् भनेको थिए त्यसमा पनि ढिलाई गर्नुभयो,’ गभर्नर नेपालले भने, ‘सञ्चालक समितिमा छलफल भने गर्नुस् तर दैनिक काममा हस्तक्षेप नगर्नुस् ।’

उनले सबै बैंक तथा वित्तयि संस्थाका सञ्चालकहरुलाई धनि बन्ने आशमा बैंकमा नलाग्न पनि सुझाव दिए ।

गभर्नर नेपालले देशको नयाँ संरचना अनुसार ७ सय ४४ निकाय मध्ये २ सय ४० मा मात्र बैंक पुगेकाले अहिले बजार विस्तारको अवसर बनेको पनि उल्लेख गरे । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण पौडेलले हालसम्म १ सय ५० संस्था मर्जर तथा एक्विजिशन प्रक्रियामा गएर ४६ संस्थामा सिमित भएको जानकारी दिए ।

उनले चालु आवमा पुँजी पुर्याउन नसक्नेले नियमानुसार लाभांश वितरणमा रोक, शाखा बिस्तारमा रोक तथा निक्षेप र कर्जामा सीमा लाग्ने कारवाही भोग्नु पर्ने स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार