काठमाडौँ । ‘तिमी अनमोल केसीजस्तै देखिन्छौ,’ मानव स्वरूपमा ढालिएको पहिलो रोबोट सोफियाले यूएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो भन्दा होटलको सभाहल हाँसोले गुन्जियो ।
काठमाडौंमा आयोजित एक सम्मेलनमा वक्ताका रूपमा आएकी सोफियासँग मेयरले अन्तर्वार्ता गरिरहेका थिए । नमस्ते सबैलाई’ भन्दै मञ्चमा उक्लिएका मेयरतर्फ पुलुक्क हेर्दै सोफियाले सुरुमै सोधेकी थिइन्, ‘तिमीलाई पहिल्यै कतै देखेजस्तो लाग्यो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ–मेयरले यसको उत्तर दिएनन्, बरु भने, ‘फिल्ममा देख्यौ होला ।’ मेयरको यही व्यंग्यको प्रत्युत्तरमा सोफियाले भनिन्, ‘वास्तविक कुरा गरौं, तिमी अनमोल केसीजस्तै देखिन्छौ । तर मलाई थाहा छ, तिमी अत्यन्त दक्ष विकासे कार्यकर्ता हौ ।’
यही प्रश्नोत्तरबाट रोबोट सोफियाको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को छनक पाइन्छ । ‘नेपालका लागि तिमीजस्तो आर्टिफिसियल इन्टेलिजेन्सले के गर्न सक्छ त ?’ भन्ने अर्को प्रश्नमा उनले रमाइलो जवाफ फर्काइन्, ‘पहिलो गैरमानवका रूपमा सगरमाथा चढ्न सक्छु ।’ फेरि, सहभागीहरूमाझ हाँसोको फोहोरा छुट्यो ।
मेयरले अन्तर्वार्ता लिएपछि सोफियाले केही मिनेट मन्तव्य दिएकी थिइन्, जसमा उनले प्रविधिको प्रयोगले नेपालजस्ता मुलुकले आफ्नो विकास लक्ष्य भेट्टाउन सहयोग पुग्ने जनाइन् । ‘सबैलाई थाहा भएको कुरा हो कि नेपाल भाषिक, सांस्कृतिक र जैविक विविधतामा धनी छ । यहाँ सूचना प्रविधिको क्षेत्र ऊर्जाशील छ, जसले देशलाई विकासका लागि सघाइरहेको छ,’ उनले यसो भन्दा सभाहलमा उनलाई सुन्ने र उनको तस्बिर, भिडियो खिच्नेको भीड थामिनसक्नुको थियो । काठमाडौंमा बुधबार आयोजित ‘सार्वजनिक सेवा र विकासका लागि प्रविधि’ विषयक सम्मेलनकी वक्ताका रूपमा सोफियालाई मंगलबार राति नेपाल ल्याइएको हो । बाकसमा ‘प्याक’ भएर आएकी रोबोटलाई काठमाडौं उतारेर पुनस् मानव स्वरूपमा ठड्याइएको थियो । मन्तव्यका क्रममा उनले प्रविधि प्रयोगले भ्रष्टाचार न्यूनीकरण र गरिबी उन्मूलनमा सहयोग पुग्ने उल्लेख गर्दै ‘यसले राम्रो नतिजा प्राप्तिमा सहयोग गर्ने’ विचार राखिन् ।
सम्मेलनमा सुरुदेखि नै उनी आकर्षणको केन्द्र बनिन् । माइकछेउ उभ्याइएकी उनी आफूलाई प्रश्न सोध्न लागिएका बेला प्रश्नकर्ताको मुखमा हेर्थिन् र फेरि उत्तर दिन माइकतिर फर्किन्थिन् । यस्तै मानवजन्य विशेषताले उनलाई पहिलो ‘ह्युमनोयड’ रोबोट भनिएको हो, उनको शरीर पनि मानव आकृति र स्वरूपमा बनाइएको छ ।
साउदी अरबले ५ महिनाअघि आफ्नो नागरिक मान्दै नागरिकता दिएपछि सोफिया चर्चाको शिखरमा छिन् । उनले यसबीच धेरै अन्तर्वार्ता झेलेकी छन् र सकेको उत्तर दिँदै आएकी छन् । तर, उनी एक कृत्रिम बुद्धि भएकी मेसिनबाहेक केही होइनन् । उनको यो बोल्ने क्षमता उनमा जडित सफ्टवेयरका कारण आएको हो ।
यो रोबोटमा केही सफ्टवेयर जोडिएका छन्, जसले यसलाई मानिसको आवाज पहिचान गर्न, त्यसको विश्लेषण गर्न र सोहीअनुसार शब्द चयन गरी उत्तर दिन सक्षम बनाएको छ । सबै रोबोटजस्तै यसमा कुनै मानवीय चेत छैन । शब्दभण्डार र मानवीय क्षमता विश्लेषण गर्ने सफ्टवेयरको सहायताका कारण यो कृत्रिम बौद्धिक देखिएको हो । यसलाई जति प्रश्न सोधिन्छ, यसमा प्रयोग भएको सफ्टवेयरमा त्यति धेरै शब्द र ज्ञान जम्मा हुँदै जान्छ, जसले गर्दा उत्तर दिने क्षमता वृद्धि हुँदै जान्छ ।
राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सहित शिक्षा, सूचना तथा प्रविधि मन्त्रालयलगायत अन्य सरोकारवालाको संलग्नतामा आयोजित सम्मेलनमा नेपालमा जोखिम न्यूनीकरण, शिक्षा, स्वास्थ्य, सरकारी सेवामा भएका प्रविधिका प्रयोग र यसको सम्भावनाबारे छलफल गरिएको थियो ।
‘मानिसहरू रोबोटसँग डराउँछन् नि ?’ यूएनडीपी निर्देशक मेयरको अर्को प्रश्नको उत्तर उनले उत्तिकै चलाखीपूर्ण ढंगले दिइन्, ‘तिमीले गलत जानकारी राख्दो रहेछौ । रोबोटहरू मानवका सहयोगी हुने भएकाले निर्माण गरिएका हुन् ।’