नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गरेका छन्।
इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताए ।
नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उनले नेपाललाई विकासोन्मुख देशमा लैजान आफू प्रयत्नशील रहेको उल्लेख गरे।
अहिले प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएको, कानूनको परिपालना गराउन कुनै बाधा व्यवधान नभएको, इतिहासकै बलियो सरकार निर्माण भएकाले पनि लगानीको थप अवसर सिर्जना भएको प्रधानमन्त्रीको भनाइ थियो।
सरकारले नयाँ उद्योग स्थापना लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी दिँदै सरकार सबै प्रकारको लगानीलाई स्वागत गर्न तयार रहेको उनले बताए।

594 पटक हेरिएको 

