सदाबहार कथा भएको ‘महाभारत’
यसमा भएका जति पनि पात्र छन्, सबै प्रमुख छन् । सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ । पात्रहरुबीच एक–अर्काको सम्बन्ध र भूमिका सिक्री जसरी गाँसिएको छ । एक–अर्कासँग सम्बन्धित भए पनि पात्रहरु आफैंमा पूर्ण छन ।
हरेक घर, व्यक्ति, सम्बन्ध, समाजभित्र हिजो पनि महाभारत थियो, आज पनि महाभारत छ र भोलि पनि महाभारत हुने नै छ । यसको कथा न नयाँ छ, न त पुरानो नै छ । राजनीति, कूटनीति, राज्य सञ्चालन, धर्म, दर्शन जस्ता समाजसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुलाई उच्चतम ढंगले प्रस्तुत गरिएको छ । आख्यान लेख्नेहरुको लागि झनै गजब छ ।
अहिलेको राजनितिक परिवेशमा समाजलाई सम्मुन्नत बनाउँछु भन्नेहरुले महाभारत पढ्नैपर्छ ।
आत्माको लागि अक्सिजन ‘गीता’
यो पवित्र पुस्तक मेरो प्रिय छ । गीताको बारेमा म के बोलुँ ? बोल्नै सक्दिनँ । यो महान् ग्रन्थ म जति पढ्दै जान्छु, त्यति नबुझ्दै जान्छु । त्यही नबुझ्नको लागि पनि म पढ्छु । जब मलाई बेचैनी हुन्छ, तब म गीता पढ्छु र आनन्द महसुुस गर्छु ।
गीताका हरेक श्लोकहरुले हामीभित्रको मान्छेलाई ब्युँझाउन बोलिरहे जस्तो लाग्छ । जसरी अक्सिजनले हाम्रो जैविकताको लागि टेको दिएको हुन्छ, त्यसैगरी अध्यात्म र दर्शनले हाम्रो आत्मालाई प्राण भर्छ ।
केही जान्ने र सिक्नको लागि मभित्र तिर्खा छ । त्यो तिर्खा अज्ञानताको एउटा गहिरो तलाउभित्र छ । त्यो तलाउ पुर्नको लागि जानी–नजानी म गीता पढ्छु । यकिन गरेर भन्न नसके पनि मलाई चाहिएको जति बुझ्छु । समुद्रको पानी टाउकोमा अचाए पनि, अञ्जुलीमा भरे पनि समुद्र या नदीले केही भन्दैन । सायद गीताको अथाह रुप पनि यही समुद्र या नदीको जस्तो होला ।